लेखक श्रष्टा -बिगत १६ बर्षदेखी घण्टेश्वर माध्यामिक विद्यालय कुडिकोट जोरायल डोटीमा अध्यापन गराउनुहुन्छ।
कर्मक्षेत्र मन्दिर ठान्छु, सजगता अपनाउछु,
जे काम गर्छु सधैं सधैं, ध्यान दिएर गर्छु ।
ध्यान नगरी कर्म हुन्न, कर्म विना ध्यान,
सोचविचार संकल्पको,राख्ने गर्छु ज्ञान ।
कर्ममा विश्वास गर्छु, कर्म पूरा गर्छु,
कर्मको फललाई होइन, प्रक्रिया हेर्छु ।
म हुँ एउटा कर्मयोगी, दुःखी कहिल्यै हुन्न,
योग ध्यान प्रणायाम गर्दा, रोगले पनि छुन्न ।
परिवर्तन गर्छु कर्म, सोच बदल्नालाई,
आफ्नो हिजो फर्कि हेर्छु, अघी बढनालाई ।
अरुसंग मेरो कुनै, तुलना नि हुन्न,
आफ्नै कर्म महान ठान्छु, अरुले केही छुन्न ।
सुखशान्ती नखल्बलियोस, मेरो कहिल्यै पनि,
योग ध्यान प्रणायाम साथ जिउछु,जहिल्यै पनि ।
इन्द्रिय सुखलाई त्याग्छु,आत्म सुखलाई हेर्छु,
खराव आदत आनीबानी, आचरण फेर्छु ।
साहसिक कर्म गर्छु, छाती फुलाएर,
कहिल्यै पनि हिड्ने छैन, टाउको झुकाएर ।
गन्तव्यलाई विर्सन्न म, जस्तै नदी बग्छ,
सुख शान्ती समृद्दिमा, सधैं मन लाग्छ ।
दुर्व्यसनी वैमानी र कुलतीलाई त्यागी,
असल संगत सम्बन्ध र प्रेम जोड्छु लागि ।
आफू जस्तै बन्न खोज्छु, अरु जस्तो होइन,
चुम्छु म ज्ञानको गहिराइ, सतहीमा होइन ।
बोले पछि पूरा गर्छु, जस्तै परे पनि,
यही नियम तिम्रा लागि,मेरा लागि पनि ।
महान शक्ति एउटै मात्र, संकल्प शक्ति हो,
योग ध्यान नित्य गर्नु, यो महान भक्ती हो ।
आफ्नो कर्म आफैं गर्छु, कसैलाई पर्खिन्न,
गन्तव्य लिइ अघि बढ्छु, पछाडी फर्किन्न ।
कर्मेन्द्रिय ज्ञानेन्द्रियको, गहिरो अध्ययन गर्छु,
ह्रदयको सत्य स्वरुप त्यो के हो बोध गर्छु ।